सिराहा । सिराहा जिल्लाको बरियारपट्टी गाउँपालिका १ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बीआर ३२ बीए २३८८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही गाउँपालिका १ नर्गीटोलकी ९ वर्षीया चादनी कुमारी सदाको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी चादनी कुमारीलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । सो दुर्घटनामा मोटरसाइकलमा सवार एक व्यक्ति पनि घाइते भएका छन् । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको सिराहा प्रहरीले जनाएको छ ।




