सिराहा । सिराहा जिल्लाको मिर्चैया नगरपालिका ३ स्थित छड्की टोलमा आइतबार साँझ एकै परिवारमाथि सामूहिक आक्रमण हुँदा चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव रहेका छन् ।
गम्भीर घाइते रीता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छ भने अन्य तीन जनाको मिर्चैयामै उपचार भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवारका अनुसार आइतबार साँझ करिब १५ देखि २० जनाको समूहले घरमै पसेर खुकुरी, रड र भाटा जस्ता हतियार प्रयोग गरी आक्रमण गरेको थियो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले मिर्चैया ३ का पूर्व वडाध्यक्ष हरिकुशियैत यादवसहित किशोर यादव, अशोक यादव र जगदीश यादवलाई नियन्त्रणमा लिएको छ । उनीहरू सबै छिमेकी गाउँ सिसबोनीका हुन् । घटनाको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




