रौतहट । रौतहटमा प्रहरीले ठुलो परिमाणको नशालु इन्जेक्सनसहित एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गतको स्थायी प्रहरी चौकी बमनहरबाट खटिएको टोलीले सोमबार साँझ गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत यमुनामाई गाउँपालिका ५ बमनहर नजिकै चेकजाँचका क्रममा ती महिलालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गौरबाट चपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस (ना ५ ख ५०६३) लाई रोक गरी जाँच गर्ने क्रममा एक महिलामाथि शंका लागेपछि तलासी लिँदा ठूलो परिमाणमा लागुऔषध भेटिएको थियो । पक्राउ परेकी महिला म्याग्दी जिल्ला बेनी नगरपालिका ९ फुलचौरकी ६० वर्षीया दिलमाया बिक रहेको प्रहरीले जनाएको छ ।
उनको साथबाट फेनारगन ४९८ पिस, डाइजोपाम ४९१ पिस, नुफिन ४०० पिस र बुप्रेनोर्फिन १०० पिस गरी जम्मा १ हजार ४८९ पिस नशालु इन्जेक्सन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकी महिलालाई बरामद गरिएको लागुऔषधसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको छ ।




