सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिका ४ मा एक अज्ञात गर्भवती महिला अचेत अवस्थामा फेला परेकी छन् । उनलाई तत्कालै उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवाको स्त्रीरोग कक्ष (गाइनो वार्ड) मा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालका अनुसार ती महिलाको होस नफर्किएको र उनको स्थायी ठेगाना तथा परिवारजनको पहिचान अहिलेसम्म नखुलेको छ । चिकित्सकहरूले प्रारम्भिक स्वास्थ्य परीक्षणपछि गर्भवती महिला गम्भीर अवस्थामा रहेको बताएका छन् ।
स्थानीय बासिन्दा राजकुमार चौधरीका अनुसार ती महिला करिब १५ दिनअघि उनको घरमा कोठा लिएर बस्न आएकी थिइन् । “उनी गर्भवती हुनुका साथै चम्की रोग (ज्वरोसँग सम्बन्धित स्नायु रोग) बाट पनि ग्रस्त देखिएकी थिइन्,” चौधरीले बताए । स्वास्थ्य अवस्था झन् बिग्रिएपछि उनलाई आफैंले अस्पताल पुर्याएको उनले जानकारी दिए ।
प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा. अविनाश सिंहका अनुसार बिरामीको पहिचान नखुल्दा उपचारमा कानुनी र औपचारिक जटिलता आइरहेको छ । “नैतिक जिम्मेवारीका कारण हामीले उपचार जारी राखेका छौं, तर अभिभावक नखुल्दा केही औपचारिक प्रक्रिया अघि बढाउन कठिनाइ छ,” डा. सिंहले भने ।
अस्पताल प्रशासनले ती महिलाको पहिचान खुलाउन स्थानीयवासी र सुरक्षाकर्मीलाई आग्रह गरेको छ । महिलालाई चिनेका वा उनका आफन्त भएकाहरूलाई तुरुन्तै प्रादेशिक अस्पताल मलङ्गवामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।




