सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका ३ भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ । स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी छोरी र श्रीमतीलाई कुटपिट गरेको पीडित पक्षले जनाएका छन् ।
पीडित हृदय रायका अनुसार उनीहरूको परिवारमाथि यसअघि पनि पटक पटक आक्रमण भइरहेपनि स्थानीय प्रशासनले कुनै कदम नचालेको गुनासो छ । कुटपिटपछि प्रहरी चौकी भवानीपुर पुगेकामा उनीहरुको उजुरी प्रहरीले लिन नमानेको पीडितले बताए ।
भवानीपुर चौकीले सहयोग नगरेपछि उनीहरू ईलाका प्रहरी कार्यालय बरहथवा पुगेका थिए । तर त्यहाँ पनि उजुरी नलिएको बताइएको छ । कुटपिटबाट घाइते भएकाहरूको अहिले गोल्डेन हस्पिटल बरहथवामा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार जग्गाको विषयमा भएको विवादलाई लिएर कुटपिट गरेको बुझिएको छ ।
प्रहरीले दुवै पक्षका गरि ९ जना घाइते भएको जनाएको छ । घटनामा संग्लग्न रहेका ५५ वर्षिय राम दरेशलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पीडित परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारवाहीको माग गरेका छन् । घटना सम्बन्धि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




