महोत्तरी । महोत्तरीको औरही नगरपालिका ४ कटुधारमा मोटरसाइकलको ठक्करबाट १० वर्षीया बालिका शिवानी यादवको मृत्यु भएपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।
बुधबार अपराह्न गोविन्द यादवकी छोरी शिवानी यादव साइकलमा सन्ध्या यादवसँगै जाँदै थिइन् । त्यही क्रममा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट बालिका गम्भीर घाइते भइ महोत्तरीको जानकी एकेडमिक हस्पिटलमा उपचारको क्रममा राति नै मृत्यु भएको थियो । मोटरसाइकल चालक भने घटनास्थलबाट भागेका थिए ।
स्थानीयवासीहरूले ठक्कर दिने मोटरसाइकल र चालकको खोजी गरी कारबाहीको माग गर्दै आज बिहान ११ बजे हुलाकी राजमार्ग अवरुद्ध गरेका थिए ।
इलाका प्रहरी कार्यालय गौशालाले मृतक परिवारसँग भएको वार्तामा दोषी पत्ता लगाएर दुई दिनभित्र कारबाही अघि बढाउने प्रतिबद्धता जनाएपछि सडक अवरुद्ध खोल्न तयार भएको स्थानीयहरूले जानकारी दिएका छन् ।




