सप्तरी । मधेश प्रदेशकी सांसद किरणकुमारी साहमाथि आफ्नै सासु ससुरालाई घरबाट निकालेर दुर्व्यवहार गरेको आरोप लागेको छ । राजविराज नगरपालिका ७ का ८० वर्षीय देवनारायण साह र ७५ वर्षीया शान्तिदेवी साह अहिले बेघर भई विभिन्न ठाउँमा शरण लिएर न्यायका खोजीमा भौतारिँदै छन् ।
मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमार्फत वृद्ध दम्पतीले आफूहरूलाई सांसद बुहारी र इन्जिनियर छोरा विनोदकुमार साहले मिलेर घरबाट निकालिएको खुलासा गरेका छन् । भिडियोमा देवनारायणले मन्दिर गएको अवसरमा दराज फुटाई घरभित्र राखिएको एक लाख २५ हजार रुपैयाँ र जग्गा जमिनका सबै कागजात कब्जा गरिएको दाबी गरेका छन् ।
“घरको मालिक म हुँ भन्ने प्रमाण मेटाउन खोजिएको छ,” उनले भनेका छन्, “त्यसपछि घर खाली गर भनियो, धम्की पनि दिइयो ।” पूर्वकर्मचारी रहेका देवनारायणका अनुसार असोज २० गते घरबाट निकालिएपछि उनीहरू नातेदार र परिचितको घरमा बास बस्दै आएका छन् ।
उनका अनुसार प्रहरीमा गुनासो गरेपनि सहयोग र न्याय पाउन नसकेको बताएका छन् । “एउटा छोरा डाक्टर छ, अर्को इन्जिनियर, तर हामी अहिले भोकभोकै छौं,” उनले गुनासो गरेका छन् ।
शान्तिदेवीले पनि बुहारी किरणकुमारीमाथि पटक–पटक गालीगलौज र धम्की दिने गरेको आरोप लगाइन् । “भान्सा कोठामा काम गर्दा पनि खुट्टा भाँचिदिन्छु भन्ने धम्की दिन्थिन्,” उनले भनिन्, “हामीसँग न घर बाँकी छ, न शान्ति ।” सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि घटना व्यापक चर्चामा आएको छ ।




