सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहमाथि बिहीबार साँझ आक्रमणको प्रयास भएको छ । घटना पूर्वपश्चिम राजमार्ग स्थित लालबन्दीमा रहेको प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा भएको हो ।
आक्रोशित वडाध्यक्ष र स्थानीयहरूले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गर्ने प्रयास गरे । उनीहरूले नगरपालिकाको कार्यालय लालबन्दीबाट सञ्चालन गरी अनियमिता गरेको र नागरिकको समस्या प्रति बेवास्ता गरेको आरोप लगाएका छन् ।
घटनामा प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा रहेका टेबल, कुर्सीसहित अन्य सामाग्री तोडफोड गरिएको छ । आक्रमण रोक्ने क्रममा हरिपुर्वा ६ का वडाध्यक्ष सामसोगारथ राय यादव घाइते भएका छन् । उनको नाक र आँखामा चोट लागेको बताइएको छ ।
प्रहरी टोली घटनास्थलमा पुगेपछि नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि प्रत्यक्ष हातपात हुन सकेन । वडाध्यक्ष रामेश्वर रायले प्रमुख प्रशासकीय अधिकृतले कार्यालयका कागजात झोलामा राखेर लालबन्दीबाटै नगरपालिका सञ्चालन गरेको आरोप लगाएका छन् ।
वडाध्यक्षहरूको असन्तुष्टि कर्मचारी नियुक्ति, ठेक्कापट्टा चयन र अन्य प्रशासनिक निर्णयमा स्थानीयलाई प्राथमिकता नदिइएको कारण बढेको बताइएको छ ।
नगर प्रमुख विनोदकुमार साहका अनुसार, जेनजी आन्दोलनको क्रममा पालिकाको कार्यालयमा तोडफोड र आगजनी भएपछि भइरहेको छलफलको बीचमा आक्रमणको प्रयास भएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयले विभिन्न भुक्तानीका लागि खाता खुला गरेका कारण छलफल भइरहेको समयमा आक्रमणको प्रयास गरिएको उनको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।




