बारा । बाराका निजगढ, कोल्हवी र जीतपुरसिमरा उपमहानगरपालिकाका खोलाबाट हरेक वर्ष करिब ३० करोड रुपैयाँभन्दा बढी मूल्यका नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा बिना हिसाब किताब निकासी हुने गरेको खुलेको छ ।
वातावरणीय प्रभाव मूल्यांकन आइई प्रतिवेदनमा प्रत्येक खोलाबाट कति मात्रामा उत्खनन् गर्न पाइने र कहाँ घाटगड्डी बनाएर बिक्री गर्नुपर्ने स्पष्ट रूपमा तोकिएको छ । तर व्यवहारमा स्थानीय पालिकाले त्यसको पालना नगरी सीधै खोलाबाट उत्खनन् गरी बिक्री वितरण भइरहेको पाइएको छ ।
नियम अनुसार खोलाबाट उत्खनन् गरिएका पदार्थ घाटगड्डीमा ल्याएर नापजाँच गरी बिक्री गर्नुपर्ने हुन्छ । तर धेरैजसो ठेकेदारले यस्तो प्रक्रिया नअपनाई नदीमै टिपर लगाएर ढुंगा गिट्टी, बालुवा सिधै बिक्री गर्ने गरेका छन् । यसरी कागजमा मात्र प्रक्रिया पूरा हुने र वास्तविक रुपमा पालना नहुने भएकाले वार्षिक करोडौं मूल्य बराबरको स्रोत चुहावट भइरहेको छ ।
जिल्लाका बकैया, धन्सार, बगर, लाल भक्तलाल, शक्ति, दुधौरा, बालगङ्गा र पसाहा खोलाबाट अत्यधिक मात्रामा नदीजन्य पदार्थ उत्खनन् भइरहेको देखिएको छ । यी खोलाहरु निजगढ, कोल्हवी र जीतपुरसिमरा क्षेत्रअन्तर्गत पर्छन् ।
आइई प्रतिवेदनका अनुसार बकैया, धन्सार र लाल भक्तलाल खोलाबाट दैनिक अधिकतम तीन सय घनमिटर (लगभग २६ टिपर) मात्र उत्खनन् गर्न पाउने व्यवस्था छ । तर हाल दैनिक तीन हजार घनमिटरभन्दा बढी (तीन सय टिपरभन्दा धेरै) ढुंगा गिट्टी, बालुवा उत्खनन् र ढुवानी भइरहेको देखिन्छ ।
विज्ञहरूका अनुसार यस्तो अनियन्त्रित दोहनले खोलाको स्वरूप परिवर्तन भई बाढी पहिरोको जोखिम बढ्न सक्ने र वातावरणीय सन्तुलनमा दीर्घकालीन असर पार्ने खतरा छ । स्थानीयवासीहरूले पालिकाले ठेकदारसँग मिलेमतो गरी नियन्त्रण नगरेको आरोप लगाएका छन् भने सरोकारवालाहरूले तत्काल निगरानी र पारदर्शी प्रणाली लागू गर्न माग गरेका छन् ।




