रौतहट । रौतहटसहित छिमेकी जिल्ला बारा र पर्साको निर्वाचन कार्यालयमा पछिल्लो समय मतदाता नामावलीमा नयाँ दर्ता र संशोधनका लागि मानिसहरूको भीड उल्लेखनीय रुपमा बढेको छ ।
निर्वाचन आयोगले असोजको दोस्रो सातादेखि नयाँ मतदाता दर्ता र पुराना मतदाताहरूको नाम, ठेगाना वा अन्य विवरण संशोधनका लागि कात्तिक मसान्तसम्मको समयसीमा तोकेको थियो ।
सुरूमा निर्वाचनको निश्चितता नहुनु र दशैं, तिहार तथा छठ पर्व परेको कारण धेरै मतदाताहरू सक्रिय थिएनन् । तर छठ पर्व सकिएसँगै जिल्ला निर्वाचन कार्यालय रौतहटमा बिहानैदेखि मतदाता नामावली दर्ता र संशोधनका लागि लामो पङ्क्ति देखिएको छ ।
कार्यालयमा विभिन्न उमेरका पुरुष तथा महिलाहरू नयाँ मतदाता दर्ता गर्न, नाम वा ठेगाना सुधार गर्न र परिचयपत्रका लागि फारम बुझाउन आएका छन् । जिल्ला निर्वाचन कार्यालय, रौतहटका कर्मचारीहरूका अनुसार दैनिक सयौं सेवाग्राही आउने गरेका कारण जनशक्ति अभावले सबैलाई सहज सेवा दिन चुनौती भएको छ ।
महिला मतदाताहरू पनि सक्रिय देखिएका छन् । निर्वाचन कार्यालयले सबै योग्य नागरिकलाई निर्धारित समयभित्र नामावलीमा आफ्ना विवरण सुनिश्चित गर्न आग्रह गरेको छ ।
छिमेकी जिल्ला बारा र पर्सामा पनि भीड हुने गरेको छ । कार्यालयले टोकन प्रणाली मार्फत सेवा प्रवाह गरिरहेको भएपनि सेवा लिन आउनेहरूको संख्या अत्यधिक भएपछि पर्खाइ लामो भएको छ ।
विशेष कुरा, १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले निवेदन दिन सक्ने भएपनि हाल १८ वर्ष पुगेका मात्र मतदाता नामावलीमा समावेश हुने भएकाले पनि अहिले यो भीड बढेको हो । सरकारले फागुन २१ गतेसम्म १८ वर्ष पुगेका युवाहरूलाई मात्र आवेदन दिन बारम्बार अनुरोध गरेको छ ।
जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारसँग सम्बन्धित राजनीतिक वातावरणले पनि यस समूहका युवाहरूलाई मतदाता नामावलीमा समावेश हुन सक्रिय बनाएको अधिकारीहरूले बताएका छन् ।




