रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक दलित विवाहित महिलालाई वडा सदस्यले भगाएको घटनाले स्थानीय शासन, जनप्रतिनिधिको नैतिकता र पीडित परिवारको अवस्था बारे गम्भीर बहस सुरु भएको छ ।
घटनापछि महिलाका तीन बालबच्चा र उनको सासू कठोर मानसिक तथा आर्थिक संकटमा परेका छन् । कटहरिया १ का नेपाली कांग्रेसका वडा सदस्य सतलाल दासले तीन छोराकी आमालाई ललाइफकाई भगाएको परिवारको आरोप छ ।
विदेशमा रहेर पाँच वर्षदेखि काम गर्दै आएका महिलाका श्रीमान्ले पठाएको १२ लाख रुपैयाँ, करिब ३ लाखका गरगहना र झन्डै १५ लाख बराबरका सम्पत्तिसहित वडा सदस्यले महिलालाई भगाएको पीडित परिवारको दाबी छ ।
पीडित महिलाकी सासू घुनिया देवीका अनुसार दासले बुहारीलाई निजगढको एक कोठामा लुकाएर राखेका थिए । उनले भनिन्, “बुहारीको नाममा रहेको ५ कठ्ठा जग्गा बैंकमा धितो राखेर पनि पैसा निकालेका रहेछन् । प्रमाणसहित भेट्यौँ ।”
मेयरमाथि ‘सम्पत्ति आधा–आधा’ प्रस्तावको आरोप
बारा प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा छलफल गर्दा कटहरिया नगरप्रमुख अजयप्रकाश जैसवालले उल्टै पीडित पक्षलाई ‘सम्पत्ति आधा–आधा मिलाएर मिलापत्र गर’ भन्ने प्रस्ताव गरेको आरोप घुनिया देवीले लगाइन् ।
उनका अनुसार, “दोषीलाई कारबाही त परै जाओस्, मेयरले त उल्टै भागबण्डा गराएर अपराधी बचाउने खेल खेले ।” त्यसैबीच, मेयर जैसवालले वडासदस्य दासलाई आफ्नो गाडीमै लगेको आरोप पनि परिवारले लगाएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले परिवारले प्रस्तुत गरेका रकम, गहना र बैंकबाट निकालेको रकम सम्बन्धी सबै प्रमाणका आधारमा उजुरी दर्ता गर्न पीडितलाई निर्देशन दिएको बताए । प्रहरीका अनुसार प्रमाण पुष्टि भए दासले सम्पूर्ण रकम फिर्ता गर्नुपर्नेछ ।
स्थानीय नेतृत्वमै बिखण्डन
यस्तै वडा १ का अध्यक्ष भूपेन्द्र कुशवाहले घटनालाई जघन्य अपराध भन्दै मेयरमाथि पनि गम्भीर आरोप लगाए । उनको भनाइ छ- “तीन छोराकी आमा भगाउनु दासको अपराध हो, तर योभन्दा ठूलो अपराध भनेको मेयरले उनैलाई जोगाउने खेल हो ।”
पीडित परिवार बिचल्लीमा
तीन जना बालबालिका, वृद्ध सासू र परिवारका अन्य सदस्य अहिले बिचल्लीमा परेका छन् । ब्यहोरो घुनिया देवी भन्छिन्, “न्याय माग्दै हिँड्यौँ, तर उल्टै मेयरले अभियुक्तकै साथ दिएपछि हामी कहाँ जाऊँ ?”
मेयर जैसवालले भने आफूले अभियुक्तलाई बचाएको आरोप अस्वीकार गर्दै घट्नामा निष्पक्ष अनुसन्धानका लागि प्रहरीलाई सहयोग गरिरहेको दाबी गरेका छन् । घटनाले कटहरिया नगरमै जनप्रतिनिधिको चरित्र, नैतिकता र राजनीतिक संरक्षणमा हुने दण्डहीनतामाथि व्यापक प्रश्न उठिरहेको छ ।




