वीरगञ्ज । पर्सास्थित नापी कार्यालयभित्र भइरहेको अनियमिततामा फेरि एक पटक पर्दा उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले वीरगञ्ज ३ आदर्शनगरस्थित नापी कार्यालयका दुई कर्मचारीलाई १ लाख रुपैयाँ घुससहित सोमबार रंगेहात समातेको हो ।
पक्राउ पर्नेमा सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेका छन् । उनीहरूले सेवाग्राहीको ‘छुटिएको जग्गा दर्ता’ प्रक्रिया छिटो अघि बढाइदिने भन्दै रकम माग्ने गरेको आयोगले जनाएको छ ।
सेवाग्राहीले दिएको उजुरीपछि आयोगको टंगालस्थित मुख्य कार्यालयबाट खटिएको टोलीले केही दिनदेखि निगरानी राख्दै आएको थियो । अन्ततः दुबैलाई घुस बुझिसकेकै अवस्थामा नापी टिम बस्ने कक्षमै नियन्त्रणमा लिइयो ।
घटना सार्वजनिक भएपछि नापी कार्यालयका अन्य कर्मचारीको भूमिका तथा भूमाफियासँगको सम्भावित गाँठो बारे पनि प्रश्न उठेका छन् । आयोगले दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।




