रौतहट । रौतहटको कटहरिया नगरपालिका १ का निर्वाचित वडा सदस्य सतलाल दास र एक विवाहित महिलाबीचको अवैध सम्बन्ध प्रकरणले रौतहटको स्थानीय राजनीति र सामाजिक मूल्यहरूलाई चुनौती दिएको छ ।
प्रहरीका अनुसार दासमाथि विवाहित दलित महिलालाई प्रेमजालमा फसाएर भगाएको र परस्त्री गमन गरेको आरोप लगाइएको छ । घटनासँग सम्बन्धित महिलामाथि समेत अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
दासलाई गत मंसिर ५ गते गौरबाट पक्राउ गरिएको थियो भने महिलाविरुद्धको मुद्दा शुक्रबार दर्ता गरिएको हो । वडा सदस्य दासले तीन सन्तानकी आमा भएकी महिलालाई उपभोक्ता समितिको सचिव बनाउने बहाना देखाएर प्रेमजालमा फँसाएका हुन् ।
पीडित परिवारले दाबी गरे अनुसार दासले महिलाको परिवारबाट प्राप्त विदेशबाट पठाइएको रकम करिब १२ लाख रुपैयाँ, तीन लाख बराबरका सुनचाँदी र चार कठ्ठा जग्गा दुरुपयोग गरेका थिए ।
प्रहरी अनुसन्धानमा दासले उक्त जग्गा धरौटी राखेर रकम निकालेको देखिन्छ । घटनाका विवरण अनुसार पछिल्ला केही महिनादेखि महिलाले आफ्ना तीन साना छोरालाई घरमै छोडेर दाससँग बाराको निजगढमा भाडाको कोठामा बस्दै आएकी थिइन् ।
स्थानीय खोजीपछि दुवैलाई एकै कोठाबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा बुझाइएको हो । प्रहरीका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार, विदेशबाट पठाइएको पैसा, गहना र जग्गासँग सम्बन्धित प्रमाण फेला परेमा दासविरुद्ध कडा कानुनी कारबाही हुनेछ ।
घटनाले दुई परिवारका बालबालिकाको भविष्यमा अनिश्चितता सिर्जना गरेको छैन, यसले विदेशमा रहेका नेपाली युवाहरूले पठाउने रकमको सुरक्षा र पारदर्शितामा पनि प्रश्न उठाएको छ ।
स्थानीय राजनीतिको केन्द्रबिन्दु बनेको यो प्रकरणले वडा सदस्य दासको राजनीतिक भविष्यमा पनि प्रश्न उठाएको छ । प्रहरी अनुसन्धान जारी छ र आगामी दिनमा थप कानुनी प्रक्रिया अघि बढ्ने देखिन्छ ।




