महोत्तरी । बर्दीबास र गौशाला क्षेत्रमा वन तस्करी र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरिएको वन गस्ती टोलीले ठूलो मात्रामा काठ र तयारी फर्निचर सामाग्री बरामद गरेको छ भने सामुदायिक वनको जग्गामा अतिक्रमण गरी बनाइएको अवैध घर भत्काएको छ ।
टुटेश्वर सब डिभिजन वन कार्यालयका प्रमुख राकेश विकको नेतृत्वमा खटिएको टोलीले बर्दीबास ४ स्थित जङ्गली क्षेत्रमा छापा मार्दा सालका १० क्युफिट बराबरका ७ थान ढोकाका चौखट बरामद गरेको छ । टोली सूचना प्राप्त भएपछि आइतबार अपराह्न पुगेको थियो । काठ तस्करहरूले टोली देखेर चौखट छोडेर फरार भएका थिए ।
त्यसैगरी गौशाला ८ खाल्टेमा रहेको शान्ति सामुदायिक वनको जग्गामा अतिक्रमण गरी बनाइएको बेवारिसे घर सोमबार बिहान भत्काइएको छ । सब डिभिजन प्रमुख विकका अनुसार, सामुदायिक वनको जग्गामा संरचना निर्माण हुन थालेपछि थप अतिक्रमणको जोखिम बढ्ने भएकाले तत्काल घर हटाइएको हो । अतिक्रमणमा संलग्न व्यक्तिहरूको खोजी जारी रहेको जनाइएको छ ।
यसअघि, आइतबार राति माईस्थान सब डिभिजन कार्यालयका प्रमुख कृष्णकुमार पटेलको कमान्डमा रहेको सशस्त्र वन रक्षक टोलीले बर्दीबास ४ वरडाँडा क्षेत्रबाट सालका १५ क्युफिट बराबरका ३ थान गोलिया र एक हाते आरा बरामद गरेको थियो ।
त्यस्तै, बर्दीबास ५ टुटेश्वर गाउँको आँपबगैँचाबाट सालका ३५ क्युफिट बराबरका २२ थान गोलिया फेला परेको जानकारी पटेलले दिए । वन कार्यालयका अनुसार, नियमित गस्ती र छापामार कार्यलाई निरन्तरता दिँदै वन तस्करी र अतिक्रमण नियन्त्रणमा विशेष ध्यान दिइनेछ ।




