रौतहट । रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गत सुकदेव चौक र जयनगरबीच बुधबार दिउँसो भएको दुर्घटनामा एकै परिवारका सातसहित ८ जना घाइते भएका छन् । चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ह १०७४ नम्बरको ई–रिक्सा र विपरीत दिशाबाट आइरहेको बीआर ०६ जिजी ५४०४ नम्बरको पिकअप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ई–रिक्सा चालक यमुनामाई ४ सरुअठाका ३४ वर्षीय जनसेद आलम दुवै हात खुट्टा तथा टाउकोमा गम्भीर चोट लागेर नेपाल तराई अस्पताल, सुकदेवचोकमा उपचाररत छन् । ई–रिक्सामा सवार सर्लाही बरहथवा २ का नागेन्द्र बैठाको परिवारका सबै सदस्य घाइते भएका छन् ।
उनकी पत्नी २७ वर्षीया रिन्कु बैठाको टाउको तथा हात–खुट्टामा चोट लागेको छ र उनी शिवदर्शन अस्पतालमा उपचाररत छिन् । उनकी ७ वर्षीया छोरी अनुश्का बैठाको दुवै खुट्टा भाँचिएको छ र टाउकोमा समेत चोट लागेकाले उनलाई गम्भीर अवस्थामा वीरगन्ज पठाइएको छ । अर्की छोरी ५ वर्षीया अन्निया बैठाको टाउकोमा चोट लागेर शिवदर्शन अस्पतालमै उपचार भइरहेको छ ।
त्यस्तै ३ वर्षीय आयुष बैठा र १८ महिनाका रोमन बैठा दुवैले टाउकोमा चोट पाएका छन् र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । सोही ई–रिक्सामा रहेका माधवनरायण–सखुवबाका २० वर्षीय रामविश्वास बैठा पनि टाउकोमा चोट लागेपछि उपचाररत छन् ।
दुर्घटनापछि भारत बिहार, सीतामढी, डुमरा–बडहरवा निवासी ३१ वर्षीय पिकअप चालक सन्तोषकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडातर्फ पठाएको डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए । दुवै सवारी साधन प्रहरी चौकी सुकदेवचोकको नियन्त्रणमा छन् र घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




