जनकपुरधाम । वर्षौंदेखि घाटामा चलिरहेको जनकपुर–जयनगर रेल सेवा पछिल्लो समय झन् अस्तव्यस्त बनेको छ । नेपाल रेल्वे कम्पनीमा महत्त्वपूर्ण नेतृत्व नै खाली हुँदा सेवा व्यवस्थापन अव्यवस्थित बनेको हो ।
गत भदौमा महाप्रबन्धक निरञ्जन झाको कार्यकाल सकिएपछि कम्पनी महाप्रबन्धकविहीन बनेको छ । सोही समयमा लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाली आएका तुला बहादुर डागीले राजीनामा दिएपनि स्वीकृत नहुँदा उनले कार्यालय आउनै छाडेका छन् । यससँगै रेल कम्पनी नेतृत्वहीन बनेको छ ।
नेतृत्व नहुँदा दैनिक ज्यालादारी मजदुरको भरमा रेल सेवा चलिरहेको छ । नेपाल रेल्वे कम्पनीमा चौथो तहका एक स्थायी कर्मचारीबाहेक अरू सबै करार वा दैनिक ज्यालादारीमा छन् । ती कर्मचारीहरूले दुई महिनादेखि तलब समेत नपाएको एक मजदुरले बताए ।
प्रशासनिक संरचना नै अपुरो हुँदा रेल सेवाका दैनिक कार्य समेत प्रभावित भएका छन् । स्थायी कर्मचारीको दरबन्दी खुलाउन अहिलेसम्म कुनै विज्ञापन समेत आह्वान गरिएको छैन ।
जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आएदेखि आजसम्म कुनै वर्ष नाफामा गएको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडको व्यवसायिक कार्य योजना २०८२ का अनुसार २०७६/७७ देखि २०८०/८१ सम्म कम्पनीलाई १९ करोड २१ लाख मात्र आम्दानी भएको छ । तर सोही अवधिमा ६७ करोड ३७ लाख बराबर खर्च भएको तथ्यांकले देखाउँछ ।
पाँच आर्थिक वर्षको समग्र हिसाबमा नेपाल रेल्वे ४८ करोड १४ लाख रुपैयाँ घाटामा छ । नेतृत्व अभाव, अनियमितता, कर्मचारी व्यवस्थापनको कमजोरी र कार्य योजन विना सञ्चालन नै निरन्तर घाटाको प्रमुख कारण बनेको छ ।




