रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुलनजिक शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि मृतकका आफन्त तथा पीडित परिवारले उचित क्षतिपूर्तिको माग गर्दै शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
चन्द्रपुर नगरपालिका ६ मा पर्ने मोथियाही पुलनजिक गौरबाट चन्द्रनिगाहपुरतर्फ आइरहेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक, बृन्दावन नगरपालिका २ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटना हुँदा मोटरसाइकलमा मृतकका साथै उनका तीन सन्तान पनि सवार थिए । हाल उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि मृतकका परिवार र बस सञ्चालकबीच क्षतिपूर्तिको विषयमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो । तर, बसधनीका तर्फबाट कानूनले तोकेभन्दा बढी रकम दिन नसकिने अडान राखिएपछि मृतकका परिवारले असन्तुष्टि जनाउँदै राजमार्ग ठप्प पारेका हुन् ।
बसधनीसँग सहमति नजुटेपछि मृतकका आफन्तहरू सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । राजमार्ग बन्दका कारण चन्द्रनिगाहपुर चोकमा सयौँ सवारी साधन अलपत्र परेका छन् ।




