रौतहट । रौतहटमा शनिबार गरिएको राजमार्ग अवरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गराएको छ । रौतहटको गौर-चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत चन्द्रपुर ६ मोतियाही पुल नजिक शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र ३ जना घाइते भएका थिए ।
घटनामा पीडित पक्षद्वारा गरिएको राजमार्ग अवरुद्ध स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालयको टोलीले ३ घण्टापछि सुचारु गराएको छ । पीडित पक्षले क्षतिपूर्तिसहित कडा कारबाहीका लागि शनिबार चन्द्रनिगाहपुर स्थित इलाका प्रहरी कार्यालय नजिक पूर्वपश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरि प्रदर्शन गरेका थिए ।
प्रहरीले अवरुद्ध बाटो खुलाउन माइकिङ्ग गर्दै भिडलाई तितर बितर पारेर अवरुद्ध राजमार्गमा आवतजावत सुचारु गराएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुंगले जानकारी दिए ।
पीडित पक्षद्वारा गरिएको प्रदर्शनपछि चन्द्रपुरको अवस्था तनावग्रस्त बनेको थियो । बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक वृन्दावन नगरपालिका २ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकलमा सवार मृतक पटेलका तीन जना छोराछोरी घाइते भई अहिले वीरगंजमा उपचाररत रहेको छ । बस र बस चालक चन्द्रपुर ८ का ४५ वर्षीय अमृत बहादुर बिक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको छ ।




