सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका २ पुनःवास क्षेत्रमा निर्माण गरिएको सामूहिक आवास भवन सात वर्षदेखि प्रयोगमा नआएपछि अहिले त्यो भवन लागुऔषध सेवन गर्ने समूहको सुरक्षित थलो बनेको स्थानीयले बताएका छन् । पाँचकुमार प्राथमिक विद्यालयको ठीक पछाडि रहेको भवन ‘अलपत्र संरचना’का रूपमा वर्षौंदेखि रहेको छ ।
स्थानीयका अनुसार भवन प्रयोगमा नआएपछि अपरिचित युवाहरू हुलका हुल त्यहाँ पुगेर गाँजा र अन्य ट्याब्लेट सेवन गर्ने गरेका छन् । पुनःवास क्षेत्रमा दलित पासवान समुदायको बसोवास छ । स्थानीय अतिविपन्न तथा विपद्मा परेका व्यक्तिलाई बसोवास उपलब्ध गराउने उद्देश्यले संघीय सरकारले तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत सो भवन निर्माण गरेको थियो ।
निर्माणका लागि करिब एक करोड रुपैयाँ खर्चिएको थियो । लालबन्दी नगरपालिकाका निवर्तमान नगरप्रमुख मानबहादुर खड्काका अनुसार त्यहाँ एउटै परिसरभित्र ५०–५० लाख रुपैयाँ लागतमा दुई वटा सामूहिक आवास भवन निर्माण गरिएको हो ।
भवन निर्माण सम्पन्न नहुँदै स्थानीय विपन्न परिवारलाई त्यहाँ स्थानान्तरण गर्ने पहल नगरपालिकाले गरेको थियो । तर कोही पनि आफ्नै घर छाडेर नयाँ भवनमा बस्न नआएपछि योजना कार्यान्वयन हुन सकेन । उनका अनुसार नगरपालिका ५ रन्जितपुरमा बनेको सामूहिक आवास भवन मुसहर समुदायले सहजै अपनाएपनि पुनःवासमा भने परिवारहरू बस्न नमान्नु नै भवन अलपत्र पर्नुको प्रमुख कारण हो ।
उता, लालबन्दी २ का वडाध्यक्ष किरणकुमार पासवानले अब धेरै समय खाली छाडेर बस्न नदिने बताए । उनका अनुसार अलपत्र भवनलाई फिनिसिङ गरेर नजिकैको पाँचकुमार प्राथमिक विद्यालय सार्ने योजना बनाइएको छ ।
सामूहिक आवास भवनलाई पूर्ण रूपमा प्रयोगयोग्य बनाउने गरी रङरोगन तथा फिनिसिङका कामका लागि मधेश प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको पनि वडाध्यक्ष पासवानले जानकारी दिए । स्थानीयहरूले भवन जति चाँडो प्रयोगमा आए युवाहरूको लागुऔषध दुर्व्यसन रोकथाममा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।




