काठमाडौं । नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा नेकपा एमालेका नेता शिवशंकर साह ‘हिरा’ पक्राउ परेका छन् । मधेश प्रदेश कमिटी सदस्य एवम् जनकपुरधाम उपमहानगरपालिकाका इन्चार्ज शिवशंकर साह पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले मंगलबार साँझ भारतीय सीमावर्ती सहर सीतामढीबाट पक्राउ गरी जनकपुर ल्याएको हो । प्रहरीका अनुसार गत कार्तिक २२ गतेदेखि २५ गतेसम्म जनकपुरधामस्थित एक होटलमा नाबालिकालाई राखेर साहसहित चार जनाको समूहले जबरजस्ती करणी गरेका थिए ।
सोही घटनामा संलग्न रहेको आरोपमा यसअघि नै मुख्य आरोपी हिराका भाइ मनोज साहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरी धनुषा ल्याइसकेको छ । पक्राउ परेका ‘हिरा’ जनकपुरधामको राजनीति र व्यवसायिक क्षेत्रमा प्रभावशाली मानिने व्यक्ति हुन् ।
साह २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार थिए ।




