बारा । ‘ठेकेदारको काम, कहिले पाउने दाम’ र ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखानलाई चरितार्थ गरिरहेको दुधौरा खोलाको पक्की पुल सात वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्ने संकेत देखिएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने यो पुल निर्माण अन्तिम चरणमा पुगिसकेको भएपनि अनेकौं प्राविधिक र प्रशासनिक अड्चनले काम प्रभावित बनेको छ ।
८५ प्रतिशत काम सकियो, तर समस्या पूर्ववत्
इन्जिनीयर नितेश झाका अनुसार पुल निर्माणको पिलर, स्ल्याबसहित करिब ८५ प्रतिशत काम सकिएको छ । तर बाँकी १५ प्रतिशत कार्य सम्पन्न गर्न सडक विस्तार, रूख छपान–कटान, विद्युत् पोल सार्ने जस्ता मुद्दा अझै समाधान हुन सकेका छैनन् । उनले भने, “कामको गति हेर्दा पुस मसान्तभित्र सकिनुपर्ने देखिन्छ, तर वन ऐनका कारण प्रक्रियागत काम जटिल भइरहेका छन् ।”
सम्झौता अनुसार ३ वर्षमा सकिनुपर्ने काम ७ वर्ष पुगे पनि अधुरै
पुल निर्माणको ठेक्का महादेव/खिम्ती/हिराचन जेभी काठमाडौंले आर्थिक वर्ष २०७६/७७ मा लिएको थियो । सम्झौता अनुसार तीन वर्षभित्र काम समाप्त गर्नुपर्ने भएपनि सात वर्ष बितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन ।
दैनिक ३ हजार सवारी साधनको सास्ती
यस मार्ग भएर दैनिक तीन हजारभन्दा बढी सवारी साधन गुज्रिन्छन् । नियमित चालकहरूका अनुसार हिउँदमा डाइभर्सनले धान्छ तर वर्षायाममा कमजोर फलामे बेलिब्रिज र खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण बन्छ । बस चालक शिव रेग्मी र अटोचालक जीतबहादुर खत्री भन्छन्, “बेलिब्रिज कमजोर भएकाले दैनिक त्राससहित सवारी चलाउनु परेको छ ।”
पुलपछि २००/२०० मिटर चार लेन सडक पनि निर्माण गर्नुपर्ने
पुल तयार भएपछि पूर्व–पश्चिम दुवैतर्फ २००–२०० मिटर चार लेन कालोपत्रे सडक निर्माण गर्नुपर्नेछ । तर सडक विस्तारमा वन क्षेत्र र अन्य संरचनाको समस्या मुख्य अड्चन बनेको छ ।
ठेकेदार पक्ष: “काम अन्तिम चरणमा, पुस मसान्तभित्र सक्ने लक्ष्य”
ठेकेदार कम्पनीका इन्जिनीयर अजयकुमार झाले पुस मसान्तभित्र पुलको सम्पूर्ण काम सक्ने गरी गति बढाइएको दाबी गरे । “मुख्य संरचनाहरू लगभग पूरा भइसकेका छन् । बाँकी काम तीव्र गतिमा भइरहेकाले निर्धारित अवधिभित्र पूरा हुन्छ,” उनले भने ।




