रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप रौतहटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार शुक्रबार जिल्ला अदालतसँगै रहेको करदाता सेवा कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
यससँगै जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । निर्वाचन क्षेत्रगत रूपमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि गौरस्थित करदाता सेवा कार्यालय भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
यस्तै, निर्वाचन क्षेत्र नम्बर २ का लागि परोहा नगरपालिका–लौकाहामा रहेको कृषि तथा पशु सेवा केन्द्रको भवनमा, निर्वाचन क्षेत्र नम्बर ३ का लागि कटहरिया नगरपालिकाको कार्यालय कटहरियामा कार्यालय स्थापना गरिएको छ । यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ का लागि चन्द्रपुर नगरपालिका ५ स्थित वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको दासले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालय सञ्चालनमा आएसँगै रौतहट जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।




