जनकपुरधाम । मधेस प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीमा अपेक्षाभन्दा धेरै आवेदन परेको छ। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार आवश्यक संख्याभन्दा ६९.५१ प्रतिशत बढी आवेदन दर्ता भएका छन् ।
प्रदेशका ८ जिल्लाबाट कुल ५३ हजार ३३८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । तीमध्ये नेपाल प्रहरीतर्फ ४८ हजार २५० जना र सशस्त्र प्रहरीतर्फ ५ हजार ८८ जनाको आवेदन परेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार मधेस प्रदेशमा निर्वाचन सुरक्षाका लागि कुल ३१ हजार ४६६ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ । यसमध्ये नेपाल प्रहरीलाई २८ हजार २९५ जना र सशस्त्र प्रहरीलाई ३ हजार १७१ जना भर्ना गर्ने जिम्मेवारी तोकिएको छ ।
लैंगिक आधारमा हेर्दा निर्वाचन प्रहरीका लागि आवेदन दिनेहरूमध्ये ४० हजार २७३ जना पुरुष र ७ हजार ९७७ जना महिला रहेका छन् । जिल्लागत रूपमा हेर्दा बारामा सबैभन्दा धेरै र महोत्तरीमा सबैभन्दा कम आवेदन परेको प्रवक्ता थापाले जानकारी दिए ।
बारामा आवश्यकताभन्दा १०९.१५ प्रतिशत बढी आवेदन परेको छ भने महोत्तरीमा ३६.९९ प्रतिशत बढी आवेदन परेको छ । बारामा नेपाल प्रहरीतर्फ ५ हजार ५८१ पुरुष र १ हजार १९२ महिला गरी ६ हजार ७७३ जनाले आवेदन दिएका छन् भने सशस्त्र प्रहरीतर्फ १ हजार ६६४ जनाको आवेदन परेको छ ।
सप्तरीमा ४ हजार २२२ जना निर्वाचन प्रहरीको आवश्यकता रहेकोमा ७ हजार ५१२ जनाले आवेदन दिएका छन्, जुन आवश्यकताभन्दा ७७.९३ प्रतिशत बढी हो । तीमध्ये नेपाल प्रहरीतर्फ ५ हजार ६१ पुरुष र १ हजार ३३४ महिला तथा सशस्त्र प्रहरीतर्फ १ हजार ११७ जनाले आवेदन दिएका छन् ।
धनुषामा ४ हजार ५२७ जनाको आवश्यकता रहेकामा नेपाल प्रहरीतर्फ ६ हजार ९१६ जना र सशस्त्र प्रहरीतर्फ २९९ जना गरी कुल ७ हजार २१५ जनाले आवेदन दिएका छन् । यो आवश्यकताभन्दा ५९.३८ प्रतिशत बढी हो ।
रौतहटमा ३ हजार ८५१ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा नेपाल प्रहरीतर्फ ६ हजार २८४ जना र सशस्त्र प्रहरीतर्फ ४६९ जना गरी कुल ६ हजार ७५३ जनाले आवेदन दिएका छन्, जुन आवश्यकताभन्दा ७५.३६ प्रतिशत बढी हो ।
सर्लाहीमा ४ हजार ३११ जनाको आवश्यकता रहेकोमा नेपाल प्रहरीतर्फ ६ हजार २६५ जना र सशस्त्र प्रहरीतर्फ ३९६ जना गरी कुल ६ हजार ६६१ जनाले आवेदन दिएका छन् । यहाँ ५४.५१ प्रतिशत बढी आवेदन परेको छ ।
पर्सामा २ हजार ८५२ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा नेपाल प्रहरीतर्फ ५ हजार ३९९ जना र सशस्त्र प्रहरीतर्फ ५२१ जना गरी कुल ५ हजार ९२० जनाले आवेदन दिएका छन्, जुन आवश्यकताभन्दा १०७.५७ प्रतिशत बढी हो ।
सिरहामा ३ हजार ७५७ जनाको आवश्यकता रहेकोमा नेपाल प्रहरीतर्फ ४ हजार ८५९ जना र सशस्त्र प्रहरीतर्फ ६२२ जना गरी कुल ५ हजार ४८१ जनाले आवेदन दिएका छन् । यहाँ आवश्यकताभन्दा ४५.८९ प्रतिशत बढी आवेदन परेको छ । महोत्तरीमा ३ हजार ९१२ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा ५ हजार ३५९ जनाले आवेदन दिएका छन्, जुन आवश्यकताभन्दा ३६.९९ प्रतिशत बढी हो ।
मधेस प्रदेशमा औसत ४.४ निर्वाचन क्षेत्रका दरले कुल ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशभर ३६ लाख ३६ हजार ४१४ जना मतदाता रहेका छन् ।




