काठमाडौं । वीरगञ्जमा मंगलबार बिहान एक युवकको कोरोना संक्रमणका कारण ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित युवकको बिहान ३:३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका–९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको चैत २९ गते आरटिपिसिआर रिर्पोट पोजेटिभ आएको थियो ।
चैत २६ गतेदेखि वीरगञ्जको एडभान्स हस्पिटलमा उपचार गराइरहेका युवकमा संक्रमण पुष्टि भए पनि उनलाई थप उपचारका लागि चैत ३० गते नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका वरिष्ठ फिजिसियन डा. निरज सिंहले जानकारी दिए ।
यसैबीच नारायणी अस्पतालको प्रयोगशालामा चैत ३० गते ९५ वटा स्वाबको नमूना परीक्षण गर्दा २१ पुरुष र १९ महिला गरी ४० जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये पर्साका ३७ र बाराका तीन संक्रमित रहेको अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए । रासस






