रौतहट । रौतहटको चन्द्रपुर ४ स्थित पूर्वपश्चिम राजमार्गको दोस्रो लच्का नजिक बिहिबार दिउँसो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । त्यस्तै, ६ जना घाइते भएका छन् ।
चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको दोस्रो लच्का नजिकै पश्चिमबाट आउँदै गरेको ना ५ च ५९० नम्बरको पिकअप जिप दिउँसो अनियन्त्रित भई सडकमा पल्टिँदा वीरगन्ज–५ का २४ वर्षीय पवन मेस्तरको मृत्यु भएको हो ।
घाइते मेस्तरलाई उपचारका लागि चन्द्रपुर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । दुर्गा पूजाको समापनपछि वाग्मती नदीमा मूर्ति सेलाउन हिँडेकाहरु जिप दुर्घटनामा परेका हुन् । जिपको बायाँ चक्का पन्चर भई सडकमा पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा जिपमा सवार वीरगन्ज–५ का नरेश मण्डल घाइते छन् । दुर्घटनामा घाइते अर्का राजेशकुमार चौरसियाको अनुहार, चिउँडो काटिएको छ । रोशन गुप्ताको हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा वीरगन्जकै बादल महतो, राहुल महतो, अंशु श्रीवास्तव घाइते छन् । उनीहरुको हात र खुट्टामा चोट लागेको छ । केही घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनालगत्तै जिप चालक वीरगन्जका निपुकुमार गुप्ता फरार रहेका छन् । जिपमा ९ जना सवार थिए ।




