काठमाडौं । महोत्तरीको रातु खोलामा भइरहेको उत्खनन् रोक्न पुगेका नेपाली कांग्रेसका कार्यकर्ता र ठेकेदार पक्षबीच झडप हुँदा कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास-९ पशुपतिनगरका विपिन कुमार महतो र लभ कुमार सिंह छन् ।
रातु खोलाले कटान गरेको निजी जग्गा नजिकैबाट नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै कांग्रेस त्यसको विरोधमा उत्रिएको थियो । तीन फिट गहिरो मात्रै बालुवा, गिट्टी झिक्नु पर्ने भए पनि ठेकेदारले ७ फिटसम्म गहिरो खाल्डो खनेर नदीजन्य पदार्थ मापदण्डविपरीत झिकेको भन्दै कांग्रेस कार्यकर्ताहरूले त्यसको विरोध गरेका थिए ।
यस अघि गत चैत २९ गते नेपाली कांग्रेस नगर कार्यसमिति बर्दिबासले बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुर कुमार कार्कीलाई खोला उत्खनन् रोक्न ज्ञापन पत्र बुझाएको थियो । नगरपालिकाले भने केही दिन पहिले मात्रै रातु खोला उत्खननका लागि करिब सात करोडमा चार ठेकेदारलाई ठेक्का लगाएको हो ।






