सर्लाही । सर्लाहीको हरिवन र बागमतीमा भएका दुई सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
शनिबार साँझ हरिवन नगरपालिका १ भोक्टेनीमा ज १ च १७१९ नम्बरको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको ना ५३ प ९७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने दुई किशोर गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका हरिवन नगरपालिका ८ डाँडाटोल निवासी २२ वर्षीय नवीन राईको उपचारका क्रममा वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । राईको गएराति वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका गिरिराज रानाका छोरा १८ वर्षीय साहिल राना र एकराज घिमिरेका छोरा विज्ञान घिमिरे गम्भीर घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि सुरुमा हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि साँझै वीरगन्ज लगिएको थियो । घाइते दुवै किशोरको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बोलेरो चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित पूर्वपश्चिम राजमार्गमा शनिबार दिउँसो कारले मोटरसाइकलाई ठक्कर दिँदा तीन युवक गम्भीर घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ च ३९६० नम्बरको कारले सोही दिशामा गुडिरहेको बा ८९ प ५९९६ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००२२ प ७९९५ नम्बरको स्कुटरलाई एकसाथ ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा प्रदेश २–०३–०२२प ७९९५३ नम्बरको स्कुटर चालक हरिवन नगरपालिका ८ का ३७ वर्षीय धनबहादुर गोले, स्कुटरको पछाडि सवार सोही ठाउँका भीम लामा र बा ८९ प ५९९६ नम्बरको मोटरसाइकलका चालक बागमती नगरपालिका १ का ३० वर्षीय सुकमान तामाङ गम्भीर घाइते भएका छन् ।
घाइतेमध्ये गोले र लामालाई हेलिकप्टरमार्फत उपचारका लागि शनिबार दिउँसो काठमाडौं लगिएको छ भने तामाङको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।
तीनवटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । कार चालक भने फरार छन् । उनको खोजी भइरहेको छ ।




