सर्लाही । सर्लाहीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा लालबन्दी नगरपालिकाका सब-इन्जिनियर रोशन यादवको मृत्यु भएको छ ।
हिजो शुक्रबार राति लालबन्दीबाट जनकपुर तर्फ जाने क्रममा यादव आफैले चलाएको ना १ ब २५५६ नम्बरको मोटरसाइकल बाँके जंगलमा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते यादवको सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ का ३० वर्षीय यादव शुक्रबार राती ९ बजे लालबन्दी डेराबाट घरका लागि प्रस्थान गरेका थिए ।
यस्तै मलंगवा–नवलपुर सडकखण्ड अन्तर्गत हरिपुरमा पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । प्रदेश २-०३-००१ च २३९६ नम्बरको जिपको ठक्करबाट हरिपुर नगरपालिका–२ का ३५ वर्षीय चक्रेश्वर चौधरीको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।




