रौतहट । कोरोनाको दोस्रो लहरले रौतहटमा संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्न थालेको छ । रौतहटमा हाल २९ जना सक्रिय कोरोना संक्रमित छन् ।
वैशाख १ देखि ६ गतेसम्म भएको ४७ नमुना परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै जाँदा समेत स्थानीयले सचेतना नअपनाएपछि जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई जरिवाना गराउने निर्णय गरेको छ ।
मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना गर्ने, प्रत्येक पालिकाहरुमा क्वारेन्टिन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सीमा नाकाहरुमा समेत सुरक्षाकर्मीहरुले निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । गौरको बीपी चोकमा स्थानीयलाई मास्क वितरण गर्दै बुधबारदेखि मास्क नलगाएमा जरिवाना हुने जानकारी प्रशासनले दिएको छ ।
संक्रमितको संख्या बढे पनि स्थानीयले मास्क लगाउन तथा आवश्यक सावधानी अपनाउन वेवास्ता गरिरहेका छन् । सचेतना फैलाउनु पर्ने राजनीतिक दल, संघ संस्था तथा पालिकाहरुले समेत मानिसहरुको भिडभाड गराएर विभिन्न कार्यक्रम गर्न छाडेका छैनन् ।






