सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा भारतीय नम्बर प्लेटको स्कारपियोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बबरगञ्जबाट बयलवास बजारतर्फ आउँदै गरेको बीआर ३० पि २४५९ नम्बरको स्कारपियाले ठक्कर दिँदा ज २ प ६४५२ नम्बरको मोटरसाइकलका चालक चन्द्रनगर गाउँपालिका २, बबरगञ्जका ४५ वर्षीय मनोज महतोको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई बयलवासको नगर अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि लालगढ अस्पताल धनुषा पुर्याउँदा लालगढ अस्पतालका चिकित्सकले महतोलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न उक्त भारतीय स्कारपियो चन्द्रनगर गाउँपालिकाका पूर्व अध्यक्ष तथा लोसपाका नेता महेन्द्र महतोले चढ्ने गरेको बुझिएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार स्कारपियाले मोटरसाइकललाई ठक्कर दिँदा पूर्व गाउँपालिका अध्यक्ष महतो पनि सोही स्कारपियो गाडीमा थिए ।
दुर्घटनापछि फरार भएको गाडीलाई इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलवासले नियन्त्रणमा लिएको छ । गाडीका चालक किशोरी महतो इलाका प्रहरी कार्यालय केशरगञ्ज,नियन्त्रणमा रहेको सर्लाही प्रहरीका प्रबक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियार थारुले बताउनु भयो ।
मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले बयलवास–बबरगञ्ज सडक अन्तर्गत खोरिया टोलमा अहिले चक्काजाम गरिरहेका छन् ।घटनास्थलमा नेपाल प्रहरी सशत्र प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ । मृतक मोटरसाइकल चालक महतोको शव भने लालगढ अस्पतालमै रहेको सर्लाही प्रहरीले जनाएको छ ।




