सर्लाही । प्रहरीकाे विशेष टाेलीले सर्लाहीबाट अमेरिकन पेस्ताेल र गाेली सहित एकजनालाई पक्राउ गरेकाे छ । बिशेष सूचनाको आधारमा प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङको सयुक्त टोलीले बिहिबार ईश्वरपुर नगरपालिका-१२ कालिन्जोर चौकबाट चन्द्रनगर गाउँपालिका-२ निवासी ३२ वर्षीय त्रिभुवन बैठालाई पेस्ताेल र गाेली सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रहरीका अनुसार आकस्मिक चेकजाँचका क्रममा बैठाकाे साथबाट MADE IN U.S.A. लेखिएको पेस्तोल एक थान र सो मा प्रयोग हुने गोली ४ थान सहित १ थान म्याग्जिन समेत बरामद् भएकाे छ । बैठा BR 30 Z 6548 न. को मोटर साईकल चलाएर आउँदै गर्दा पेस्ताेल र गाेली एवं म्याग्जिन सहित पक्राउ परेका हुन् । बैठामाथि हातहतियार तथा खरखजना मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ ।
त्यस्तै प्रहरीका अनुसार गत माघ ८ गते कविलासी नगरपालिका-१० चमेलीमाई मन्दिर नजिकबाट अमेरिकन पेस्ताेल सहित पक्राउ परेका गोडैता नगरपालिका-८ निबासी ५० वर्षीय अरुण मिश्र भने सर्लाही जिल्ला अदालतको फागुन ४ गतेकाे आदेश अनुसार एक लाख पचास हजार रूपैंया धरौटी राखेर धराैटीमा छुटेका छन् ।






