काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न प्रदेश २ सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन सर्वदलिय संयन्त्र गठन भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा सात सदस्यीय सर्वदलीय संयन्त्र गठन गरिएको हो ।
संयन्त्रमा नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतो, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साह, जसपाका सचेतक परमेश्वर साह र प्रदेशसभा सदस्य राम आशिष यादव सदस्य छन् ।
सर्वदलीय बैठकमा मुख्यमन्त्री राउतले कोरोना महामारीविरुद्ध सरकारले हालसम्म चालेको कदम बारे जानकारी गराएका थिए । उनले सरकारको कदममा थप सहयोग र सहकार्यका लागि सर्वदलीय संयन्त्र गठन गरेर अघि बढ्नु उत्तम विकल्प रहेको बताए ।
बैठकले कोरोना नियन्त्रण गर्न संघीय सरकारले लागू गरेका निर्णयलाई प्रदेश सरकारले आत्मसात गर्ने जानकारी दिए । सरकारले लाग गरेको निर्णय कडाईका साथ लागू गर्न/गराउन उनले सरोकारवाल निकायलाई निर्देशनसमेत दिएका छन् ।
सरकारले जन्ती, सभा, सम्मेलन, भेला जस्ता कार्यक्रममा २५ जना भन्दा बढी सहभागी हुन नपाईने निर्णय गरेको छ । त्यस्तै सांस्कृतिक कार्यक्रम गर्न रोक्ने, सिनेमा हल बन्द गर्ने, चाडपर्वमा धेरै मानिसहरु जम्मा हुन नपाउने निर्णय समेत भएको छ ।
प्रदेश सरकारले पनि सोही निर्णयलाई स्थानीय तह र प्रशासनको सहयोगमा कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाको बजार दैनिक ६ घण्टा मात्रै खोल्ने निर्णय गरेको छ ।
बिहान ७ बजेदेखि १० बजेसम्म र अपरान्ह ४ बजेदेखि बेलुकी ७ बजेसम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीडभाडका कारण जोखिम उच्च हुन सक्ने भन्दै जिल्लाका स्थानीय तहलाई फरक फरक दिनमा सेवा दिने गरेका छन् ।
कार्यालयले नियमित काम गर्ने तालिका समेत सार्वजनिक गरेको हो । तालिकामा एक दिनमा दुई वटा पालिकाको सेवाग्राहीले मात्र सेवा लिन पाउने प्रावधान राखिएको छ ।






