सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि बिहिबार बिहान एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बागमती नगरपालिका ८ गाजलीचोकस्थित राजघाटबाट सोल्टी आइरहेको बा ३० प ९४०७ नम्बरको मोटरसाइकल र हरिवनबाट रौतहटको समनपुर जाँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटर साइकल एक आपसमा ठोक्किँएको हो ।
बा ३० प ९४०७ नम्बरको मोटरसाइकल चालक बागमती नगरपालिका ८ शंकरपुरका ५० वर्षीय गणेश कार्की गम्भीर घाइते भई हरिवनस्थित सरस्वती हस्पिटल हरिवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्को मोटरसाइकल सवार हरिवन नगरपालिका १ का ३२ वर्षीया मुकेश कुमार साह उनको श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी प्रिया कुमारी साह घाइते भएका छन् ।
प्रियाको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । उनीहरुको हरिवन स्थित नमुना अस्पतालमा उपचार भैरहेको जनाएको छ । मृतक कार्कीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लाने तयारी भइरहेको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।




