रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट शुक्रबार मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनालगत्तै जानाजानी ट्रक चालकले ब्याक गरेर किचेको भन्दै स्थानीयले चालकलाई कुटपिट गरेका छन् ।
त्यसपछि प्रहरीसँग स्थानीय प्रदर्शनकारीको झडप समेत भएको थियो । स्थिति तनावग्रस्त बनेपछि सदरमुकाम गौरबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली पुगेर स्थिति साम्य पारेका थिए ।
रौतहटको कोपवा बजारमा सिमेन्ट झारेर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना ५१ पा ४९४१ को मोटरसाइकललाई ठक्कर दिँदा चालक फतुवा बिजयपुर–१ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको थियो ।
ट्रकले ब्याक गरेर किच्दा मोटरसाइकल चालकको ज्यान गएको आरोप लगाउदै ट्रक चालक निजगढ बाराका मुकुन्द पोखरेललाई स्थानीयले कुटपिट गरेका हुन् ।
चालक पोखरेललाई इलाका प्रहरी सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिँदा स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउन्ड हवाई फायरसमेत गरेको थियो ।
स्थानीयको कुटपिटबाट घाइते ट्रक चालक पोखरेललाई उपचारका लागि वीरगन्ज अस्पताल पठाइएको प्रहरीले बताएको छ । घटनालगत्तै मृतकका आफन्तले बन्कुल–निजगढ सडकखण्ड अन्तर्गत सन्तपुर दोस्तिया चोकमा शव राखेर बाटो अवरुद्ध पारेका थिए ।
उनीहरूले दोषीलाई कडा कारबाही र क्षतिपूर्तिको माग अघि सारेका थिए । प्रमुख जिल्ला धर्मेन्द्रकुमार मिश्र र जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठ राति अबेरसम्म घटनास्थलमा पीडित पक्षसँग छलफल गरेर समाधान निकालेका थिए ।




