रौतहट । रौतहटको गरुडामा रहेको एनआइसी एसिया बैंकको शाखा प्रबन्धक र केही कर्मचारीले ऋण स्वीकृत गरेको ब्यक्तीको रकम आफैँ निकालेर अपचलन गर्ने गरेको देखिएको छ ।
कृषि सहुलियत ऋण स्वीकृत गरेपछि ऋणीसँग खाली चेकमा हस्ताक्षर गराएर बैंकका कर्मचारी लगायतका ब्यक्तीको नाममा रकम निकालेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।
प्रशासन कार्यालयबाट प्रहरीमा पुगेको जाहेरी अनुसार शाखा प्रबन्धक आमोद गुप्ताले विभिन्न कम्पनी एवम् फर्मको ऋण स्वीकृत गरेर सापटी भन्दै ऋणिसँग चेक लिएर रकम निकालेको उल्लेख छ ।




