रौतहट। पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । उद्धार गर्न गएका अन्य २ जना प्रहरीलाई समेत चोट पटक लागेको छ ।
चन्द्रपुर–५ स्थित राजपैडा घर भएकी ५५ वर्षीया मनीया धामीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शनिबार साँझ घाँसपात लिन चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै उनीसँगै घाँस लिन गएकी अन्य दुई जना राजपैडा घर भएकी ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीय पनाबती देवी घाइते भएकी छन् । मृतकको शवको खोजी र घाइतेको उद्धार गर्ने क्रममा २ जना प्रहरीलाई समेत चोट पटक लागेको छ ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव पोस्टमार्टमको लागि जिल्ला प्रादेशिक अस्पताल गौरमा पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।




