काठमाडौं । प्रदेश-२ मा कोभिड-१९ संक्रमण तिब्र रुपमा फैलिँदै गएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा गरी २ सय ८७ जना संक्रमित भएको छ भने ४ जनाको निधन भएको हो ।
शुक्रबार दिउँसो सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका धनुषामा ४४, महोत्तरीमा १८, सिरहामा १०, सप्तरीमा २७, रौतहटमा १०, सर्लाहीमा ७, बारामा ३५ र पर्सामा १३५ जना संक्रमित भएका छन् । त्यस्तै बारामा एक र पर्सामा ३ जना गरी ४ जनाको ज्यान गएको छ ।
निर्देशनालयका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका २४ का एक ७७ वर्षे पुरुषको ज्यान गएको छ । त्यस्तै पर्साको वीरगंज महानगरपालिका ३ का एक ४७ वर्षे महिला, वीरगंज महानगरपालिका १२ का एक ४० वर्षे पुरुष र नगवा १६ का एक ४८ वर्षे महिलाको उपचारको क्रममा ज्यान गएको हो ।
हालसम्म प्रदेको सप्तरीमा ४१, सिरहामा २६, धनुषामा २५, महोत्तरीमा १८, सर्लाहीमा १५, रौतहटमा १०, बारामा २६ र पर्सामा ६५ जनाको ज्यान गइसकेको छ । हाल प्रदेशका जिल्लाहरुमा २ हजार १३६ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २ हजार ४६ जना होम आइसोलेशन र ९० जना अस्पतालको आइसोलेशनमा उपचारत अवस्थामा रहेका छन् ।






