धनुषा । धनुषामा भारतीय गाडीको ठक्करले दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका ९ का १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका २ का अन्दाजी १८ वर्षीय टेमा मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोमबार राति करिब पौने १ बजे ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज ११ प १२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।
उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक नियन्त्रणमा लिइएको छ तर चालक भने फरार भएको प्रहरीले जनाएको छ । चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।




