सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले नगरका सबै गतिविधिहरु २४ गते सम्म बन्द गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) संक्रमणलाई मध्य नजर गर्दै नगरपालिकाका सबै शाखा कार्यालयहरु तथा सबै वडा कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु २४ गते सम्म बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिका/नगर कार्यपालिकाको सोमबार बसेको बैठकले कोभिड-१९ संक्रमणलाई मध्य नजर गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न गराउन भन्दै नगरपालिकाका सबै शाखाहरु र सबै वडा कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु २४ गते सम्म बन्द गर्ने निर्णय गरेको नगर प्रमुख मान बहादुर खडकाले बताउनु भयो ।
नगरपालिकाको लालबन्दी बजारमा लाग्दै आएको सोमबार र बिहिबार तथा नवलपुर बजारमा लाग्दै आएको मंगलबार र शुक्रबारको हाट पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको लालबन्दी नगरपालिका-८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिका क्षेत्रमा पनि कोरोना भाइरस संक्रमण देखा परेको र थप संक्रमण देखिन सक्ने सम्भावनालाई मध्य नजर गर्दै संक्रमणको पहिचान, रोकथाम र नियन्त्रणका लागि भन्दै नगरपालिकाले उक्त सुचना जारी गर्दै नगर तथा वडाका गतिविधि २४ गते सम्म र हाटबजार २७ गते सम्म बन्द गर्ने निर्णय गरेको नगर उपप्रमुख शान्ती लामाले बताउनु भयो ।
सर्लाहीमा रहेका २० वटा स्थानिय निकाय मध्य लालबन्दी नगरपालिका कोरोना भाईरस संक्रमणबाट तुलनात्मक हिसावले सुरक्षित रहेको नगरपालिकाले जनाएको छ ।







