सर्लाही । सर्लाहीको हरिवनमा रात्रि बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । हरिपूर्वाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ९११७ नम्बरको बसले हरिवन नगरपालिका ११ कडरिया चोकमा ठक्कर दिंदा स्थानीय ८० वर्षीय मानबहादुर राईको मृत्यु भएको हो ।
बुधबार साँझ सडक पार गर्ने क्रममा बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्ध राईको उपचारका क्रममा बुधबार राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ । चालक फरार रहेका र बस व्यवसायी संघ तथा बस धनीसँग समन्वय गरी खोजी भइरहेको छ । बसमा रहेका ८ जना यात्रुलाई बुधबार राति नै अर्को बसमा चढाएर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।




