सर्लाही । सर्लाहीमा भोलि शनिबार २५ गते मध्यरातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । आज मलंगवामा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले शनिबार राती १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर बन्द हुनेछन् ।
स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने छ । स्वास्थ्य संस्था र पेट्रोल पम्प खुला रहनेछन् । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ ।
बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गर्नुपर्नेछ । विवाह, ब्रतबन्ध, मृत्यु संस्कारलगायत कार्यमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बढीमा १५ जना मात्रै सहभागी हुन पाउने निर्णय गरिएको छ ।
समितिले औषधोपचार एवं अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने, समूहमा नहिँड्ने र भौतिक दूरी कायम गर्न आग्रह गरेको छ । यो आदेशको अवज्ञा भएमा प्रहरीले तुरुन्त नियन्त्रणमा लिएर कारबाही गर्ने छ ।
छिमेकी जिल्लामा समेत निषेधाज्ञा घोषणा भएपछि सर्लाहीमा पनि निषेधाज्ञा जारी गरिएको हो । सर्लाहीमा शुक्रबार बिहानसम्म कोरोना संक्रमित संख्या २४३ पुगेको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ । जिल्लामा संक्रमितमध्ये ४ जनाको ज्यान गइसकेको छ ।






