सर्लाही । जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ४० पुगेको छ । आज बुधबार साँझसम्म जिल्लाभित्र तथा जिल्ला बाहिर पीसीआर र एन्टिजेन विधीबाट परीक्षण गर्दा ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवणकुमार नायकले बताउनु भयो ।
बुधबार ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ४ सय ४० पुगेको हो । संक्रमितमध्ये ८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय प्रमुख नायकले बताउनु भयो । उहाँका अनुसार बुधबार चितवनको भरतपुरमा उपचारका क्रममा लालबन्दीका एक जना संक्रमितको ज्यान गएपछि जिल्लामा कोरोना संक्रमितको संख्या ८ पुगेको हो ।
सर्लाहीमा अहिले जिल्ला अस्पताल मलंगवामै समेत पीसीआर परीक्षण हुन थालेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा एन्टिजेन विधीबाट पनि कोरोना परीक्षण हुन्छ । कोरोना संक्रमण रोकथामका लागि सर्लाहीमा अहिले निषेधाज्ञा लगाइएको छ । बैशाख २५ गते राती १२ बजेदेखि लगाइएको निषेधाज्ञा वैशाख ३१ गते राती १२ बजेसम्म जारी रहने छ ।
निषेधाज्ञापछि बजार क्षेत्रमा मानिसको आउजाउ निकै पातलिएको भएपनि गाउँघरमा यसकोे खासै प्रभाव परेको छैन् । तरकारी बजार बाहेक मुख्य मुख्य बजारका अन्य पसल व्यवसाय केही बन्द रहेका छन् । ठुला तथा लामो दुरीका सवारी साधनहरु बन्द रहेका छन् । भने साना तथा छोटो दुरीका सवारी साधनहरु केही मात्रामा सञ्चालीत रहेका छन् ।






