सर्लाही । सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत सासापुर स्थित कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको ज्यान गएको छ । सोमबार बिहान १ बजे चक्रघट्टा गाउँपालिका–४ निवासी ५२ वर्षीय एक पुरुषको ज्यान गएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख श्रवण कुमार नायकका अनुसार योसँगै सर्लाहीमा मृत्यु हुनेको संख्या २० पुगेको छ । त्यस्तै सक्रिय कोरोना संक्रमितको संख्या ६८५ जना पुगेको जनस्वास्थ्य प्रमुख नायकले जानकारी दिए ।
मृतक गत वैशाख २९ गते दिउँसो ३ बजेदेखि सासापुर स्वास्थ्य चौकी अन्तर्गत कोभिड अस्थायी अस्पतालमा उपचाररत थिए । उच्च ज्वरो लगायत सबै लक्षण समेत देखिएपछि वीरगन्जको गण्डक अस्पतालमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सो अस्पतालले बेड अभाव भन्दै उनलाई फिर्ता पठाएको थियो ।
हरिवनको सासापुर स्वास्थ्य चौकीमा ४० बेडको अस्थायी कोभिड अस्पतालमा ६ जना उपचाररत रहेकामा अब बागमती नगरपालिकामा ५ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य शाखाका सह–संयोजक चौधरीले जानकारी दिए ।






