रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले दोश्रो पटक पुनः ७ दिनको लागि जिल्लामा निशेधाज्ञा थप गरेको छ । समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न जेठ १३ सम्म निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
यसअघि प्रशासनले वैशाख २४ गते राति १२ बजे बाट ३१ गते सम्म निषेधाज्ञा गरेको थियो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा निषेधाज्ञा भर अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।
यस्तै स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपाी, दुध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, सव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिएको छ ।
होटेल, रेष्टुरेन्ट, कपडा पसल, जिमखाना, शैक्षिक सँस्था, ब्युटी पार्लर तथा हाट बजारलाई बन्देज लगाइएको छ भने विवाह, व्रतवन्ध तथा मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा १५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको छ ।
हाल रौतहटमा समुदाय स्तरमै ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ जनाको उपचारको क्रममा ज्यान गइसकेको छ ।






