रौतहट । स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
रौतहटको इशनाथ नगरपालिका १ बाट १० लाख रुपैयाँसहित एक युवती र एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गाडी चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका १४ निवासी २९ वर्षीया रामरति मोक्तान र सोही गाडीमा सवार मकवानपुकै मनहरी गाउँपालिका १ का ३५ वर्षीय देवराज थिङ रहेका छन् ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र ३ ०१ ०२३ च ५३८५ नम्बरको गाडीबाट रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
थिङले बोकेको कालो रंगको झोला खान तलासी गर्दा १० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । झोलामा फेला परेको रकमको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




