सर्लाही । बोल्न नसक्ने १२ वर्षकी बालिकालाई करणी गरेर गर्भवती बनाई फरार रहेका एक जनालाई ईश्वरपुर प्रहरीले पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका ८ का ३५ वर्षीय टेके सार्की पक्राउ परेका हुन् । उनले ईश्वरपुर नगरपालिका १० स्थित फूलजोर खोलामा बालिकालाई करणी गरी गर्भवती बनाई फरार भएका थिए ।
प्रहरीले ११ महिनापछि सार्कीलाई पक्राउ गर्न सफल भएको हो । बालिकाको परिवारले गएको वैशाख ७ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी दिएका थिए । पीडित १२ वर्षीया बालिकाले जबरजस्ती करणीबाट बोकेको गर्भबाट पुस १५ गते छोरालाई जन्म दिएकी थिइन् ।
बालिकाले जन्म दिएको छोराको एक महिनापछि माघ १६ गते प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको थियो । पीडित बालिकालाई अहिले सदरमुकाम मलङ्गवामा शान्ति महिला सेवा केन्द्रले सञ्चालन गरेको सेफ हाउसमा राखिएको छ ।
अभियुक्त रम्तेललाई सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप भई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको कार्यालयको मुद्दा शाखाकी इन्चार्ज एवम् प्रहरी निरीक्षक सङ्गीता पाण्डेले जानकारी दिइन् ।




