रौतहट । डडेलधुरा जिल्लामा भएको सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुई जनालाई पक्राउ गरेको छ । सुन चोरी गरी फरार रहेका दुवै जनालाई रौतहटको चन्द्रपुर नगरपालिका ४ चन्द्रनिगाहपुरमा बाटोमा हिँडिरहेको अवस्थामा बिहिबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन् । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने ४० वर्षीय सुरेन्द्र विश्वकर्मा र सप्तरी दुहबी नगरपालिका ४ बस्ने ४४ वर्षीय शंकर विश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिइन् ।
पक्राउ परेका दुवै जना आरोपीलाई डडेलधुराबाट खटिआएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाई पठाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए । डडेलधुराबाट आएका इन्स्पेक्टर नायकका अनुसार डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ५ स्थित विजय साह सोनारको सुन चाँदी पसलमा गत १४ गते राति ९ बजे २० ग्राम सुन चोरी भएको थियो ।
अनुसन्धानमा उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो । घटना बारे अर्का आरोपी सुरेन्द्र विश्वकर्मालाई पूर्ण जानकारी रहेको थियो । तर, उनले प्रहरीलाई असहयोग गरेको कारण दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




