धनुषा । धनुषामा युवक हत्याको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकनन्दनी गाउँपालिका २ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको घाँटी रेटेर साथीले नै हत्या गरेको आरोपमा ती दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाका अनुसार गएराति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा ती दुई जनाले नदाफको घाँटी रेटेर हत्या गरेका थिए ।
उक्त घटनापछि गम्भीर घाइते भएका नदाफलाई उपचारका निम्ति भारत लगिएपनि उनको उपचार क्रममा मृत्यु भएको थियो । नदाफको शव घर ल्याएपछि प्रहरीलाई खबर गरिएको थियो । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




