काठमाडौं । ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले १२ जनालाई वैदेशिक रोजगारीका लागि ग्रीस पठाई प्रतिष्ठित कृषी कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेका थिए ।
पक्राउ पर्नेहरूमा महोत्तरी गौशाला नगरपालिका १२ घर भई काठमाडौं महानगरपालिका ६ बौद्द बस्ने २३ वर्षीय निशेष कुमार मुक्तान र गोरखा धार्चे गाउँपालिका ५ घर भई काठमाडौं महानगरपालिका ३ बसुन्धारा बस्ने २० वर्षीया बिनिता गुरुङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले निशेषलाई काठमाडौं बौद्धबाट र बिनितालाई काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो । उनीहरूका विषयमा थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




