रौतहट । रौतहटको बाग्मती-चन्द्रपुर खण्डमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बसको ठक्करबाट चन्द्रपुर १ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको हो ।
घटनापछि स्थानीयले मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा सवारी आवतजावत ठप्प पारेका छन् । अहिले त्यस क्षेत्रमा आवागमन बन्द भएको छ । पश्चिमबाट सर्लाहीतर्फ आउँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर पूर्व जाँदै गरेको राई दम्पतीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका राई दम्पतीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्याइएको थियो । अस्पतालले दुबैलाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । प्रहरीले बस चालक बारा कोल्बीका धनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।




